एनआरएनएको सदस्य बन्न १ हप्ता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

एनआरएनएको सदस्य बन्न १ हप्ता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय १ हप्ता थप गर्ने निर्णय गरेको छ ।

आईतबार भर्चुअल रूपमा सम्पन्न समितिको १३औं बैठकले म्याद थप गर्ने निर्णय गरेको हो ।

यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार २३ः५९ सम्म) उच्चस्तरीय समितिको वेबसाइटमा गएर सदस्यताका लागि आवेदन दिन पाइनेछ ।

बैठकले अहिलेको विशेष परिस्थितिका कारण एमआईएस सिस्टममा दर्ता भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरूलाई पनि अनिवार्य रूपमा उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनुपर्ने निर्णय गरेको छ ।

बैठकले आउँदो मे ३–५, २०२५ मा काठमाण्डुमा हुन गइरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रूपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि सुरु गर्ने निर्णय गरेको छ ।

महाधिवेशनमा डेलिगेट्सको रूपमा सहभागी हुन चाहने सबै पञ्जीकृत सदस्यहरूले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १०० अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नुपर्नेछ ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए । आर्थिक, विधान, सदस्यता वितरण एवं प्रचारप्रसार उपसमितिका संयोजकहरूले आ–आफ्नो उपसमितिका गतिविधिबारे जानकारी गराएका थिए ।

उच्चस्तरीय समितिको १३औं बैठकमा सहभागी कानून मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले मे महिनामा काठमाण्डुमा हुने महाधिवेशनलाई सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए । विधानमा उल्लेखित कार्यक्षेत्र (टीओआर) को विषयमा सहजीकरण गर्न उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरलाई जिम्मा दिने निर्णय गरिएको छ ।

एनआरएनए उच्चस्तरीय समितिले समस्त गैरआवासीय नेपालीहरूलाई सदस्यता प्रक्रियामा सहभागी हुन तथा महाधिवेशनको तयारीमा सहयोग गर्न आग्रह पनि गरेको छ ।