काठमाण्डु – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी फूटबल क्लब दोस्रोपटक च्याम्पियन बनेको छ ।
शनिबार भएको एनएसएलको तेस्रो संस्करणको फाइनल खेलमा पोखरा थन्डर्स फूटबल क्लबलाई २–१ गोलले पराजित गर्दै ललितपुरले उपाधि जितेको छ ।
दशरथ रंशगालामा भएको खेलमा ललितपुरले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा पोखराले १ गोल फर्काए पनि खेलको ७४औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गरेको थियो ।
ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए ।
खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाएका छन् ।
दोस्रोपटक विजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता पोखराले ३० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ ।
प्रतिक्रिया