कांग्रेसी विद्यार्थीको नारा : भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे !

कांग्रेसी विद्यार्थीको नारा : भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे !


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सत्ता सहयात्री दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सडक प्रदर्शन गरेको छ ।

सरकारविरुद्ध मार्चपास गर्दै नेविसंघका विद्यार्थीले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । शुक्रबार अनामनगरदेखि बालुवाटारसम्म गरिएको मार्चपासलाई नेविसंघले सरकारको ‘राज्य आतंकविरुद्ध’ प्रदर्शनको संज्ञा दिएको छ ।

भष्टाचार लगायतका घटनालाई सरकारले सामसुम पार्ने प्रयास गरेपछि प्रदर्शन गरेको नेविसंघले जनाएको छ । पछिल्लो समय कांग्रेसको संस्थापन पक्ष प्रधानमन्त्री प्रचण्डसँग नजिक भए पनि संस्थापनइतर समूह सरकारका काम कारबाहीप्रति असन्तुष्ट रहँदै आएको छ ।

मार्चपासमा नेविसंघले ‘राजनीतिमुक्त विश्वविद्यालय, भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकार हाम्रो सरोकार’, युवालाई छातीमा गोली होइन रोजगार दे !’, ‘काण्डै–काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे !’ नारा लेखिएका ब्यानर प्रदर्शन गरेको छ ।