भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात

भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात


काठमाण्डु – पर्यटन व्यवसायीलाई आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले प्रयास शुभारम्भ गरेको छ ।

नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको भविष्यको पर्यटन नेतृत्व विकास शृंखलाको उद्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी थिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमको महत्त्वलाई जोड दिँदै भने, ‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो । हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं ।’ अहिलेको पर्यटनको प्रवृत्ति एक्सपेरियन्स ट्राभलको रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले कार्यक्रमले विद्यार्थी भाइबहिनीलाई जागिरउन्मुख हुनेभन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए । बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरूबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा शुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनुपर्ने र कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताइन् ।

पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरू बीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्नेछ भन्ने आशा बोर्डको रहेको छ । बोर्डले भनेको छ, ‘यसले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिनेछ । यस सत्रले अनुभवी पेशा व्यवसायीहरू, शिक्षकहरू र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्नेछ । सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउनेछन् ।’

सहभागी हुन चाहने अन्य कलेज, शैक्षिक संस्थाहरूले कार्यक्रममा संलग्न हुनका लागि पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखाको पर्यटन क्षमता विकास इकाईमा सम्पर्क गर्नुपर्नेछ । ‘यो पहल ज्ञान हस्तान्तरणका लागि मात्र होइन, यो हाम्रो पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरू बनाउने अभियान हो,’ जोशीले भने ।

कार्यक्रमको सञ्चालन बोर्डका अधिकृत रिखीमाया राईले गरेकी थिइन् । कार्यक्रमको समन्वय बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले गरेका थिए ।

नेपालमा दीगो पर्यटन प्रवद्र्धन गर्न र प्रमुख पर्यटन गन्तव्यको रूपमा देशको छवि बढाउन नेपाल पर्यटन बोर्ड प्रतिबद्ध रहेको जनाइएको छ । नवीन कार्यक्रमहरू र साझेदारीहरूमार्फत बोर्डले पर्यटन उद्योगको विकासलाई दीर्घकालीन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।