पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता


काठमाण्डु – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले मंगलबार रिट दायर गरेका छन् ।

रेग्मीले प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गर्दै रिट दायर गरेका हुन् ।

बिहिबार साँझ बसेको सञ्चालक समिति बैठकले सर्ट लिष्टमा दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ नियुक्त गरेको थियो । बोर्डको पूर्वसीईओ समेत रहेका रेग्मीले सीइओ नियुक्त भएपछि असन्तुष्टि जनाउँदै फेसबुकमा ६ जना पूर्वसचिवहरू संलग्न भई लिएको परीक्षामा आफू पहिलो नम्बरमा सिफारिस भएको तर बोर्ड सञ्चालक समितिले पूर्वाग्रही भएर दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ बनाएको दाबी गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेको ठाडो निर्देशनमा दुई नम्बरमा सिफारिस भएका जोशीलाई नियुक्ति गरिएको आरोप रेग्मीको छ ।

लोक सेवा आयोगको सहयोगमा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको नेतृत्वमा गठन भएको सीईओ छनोट उपसमितिले र्लिएको परीक्षामा रेग्मी, जोशी र ज्ञानेश्वर महतो गरी तीन जनाको नाम सीईओका लागि सिफारिस गरेको थियो । परीक्षामा रेग्मी पहिलो, जोशी दोस्रो र महतो तेस्रो नम्बरमा सिफारिस भएका छनोट उपसमितिमा रहेका एक सदस्यले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वको सीईओ छनोट उपसमितिमा बोर्ड सदस्‍य मदन आचार्य र मिलन देवकोटा सदस्य थिए ।