टेलिकमले भन्याे–टेलिफोन वार्ताको आवाज रेकर्ड गर्ने प्रविधि छैन

टेलिकमले भन्याे–टेलिफोन वार्ताको आवाज रेकर्ड गर्ने प्रविधि छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने बताए।

“प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”, उनले भने।

ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ ।

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ ।

विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन् ।

प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ । यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयको कुराकानीको आवाज राख्ने गरेका छन् । यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले सबैमा अनुरोध गरे।

संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हकबमोजिम टेलिकमका ल्याण्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए।

विद्यालय तहमा इ–क्लास सेवा उपलब्ध गराउने

यसैगरी, नेपाल टेलिकमले विद्यालय तहमा पढाइने पाठ्यक्रममा इ–क्लास सेवा उपलब्ध गराउने भएको छ ।

विद्यार्थीलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटरका माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने उद्देश्यले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास इ–क्लास सेवा उपलब्ध गराउने भएको हो ।

इ–क्लास विद्यार्थीलाई कम्प्युटरका माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने एक सिकाइ थलो ‘प्लेटफर्म’ भएको टेलिकमले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्री श्रब्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने कम्पनीको अपेक्षा छ ।

विद्यालयमा पढ्नुपर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन् । टेलिकमका ग्राहकले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास इ–क्लास प्रयोग गर्न सक्नेछन् ।

मिदास इ–क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा १० सम्मका विभिन्न विषय समावेश गरिएको छ । मिदास इ–क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुका बारेमा अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्ने, शिक्षकले विद्यार्थीका लागि आवश्यक पाठ्यसामग्री यसैमार्फत उपलब्ध गराउन सक्नेछन् ।

त्यसैगरी अभिभावकले पनि शिक्षकसँग अन्तक्र्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन सक्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

मिदास इ–क्लासको प्रयोग गर्नका लागि गुगल प्ले स्टोरमार्फत मिदास इ–क्लास एप डाउनलोड गर्नुपर्छ । यो सुविधा यही असार १२ देखि उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक रु १५, साप्ताहिक रु ७० र मासिक रु २५० मा यो सुविधा खरिद गर्न सक्नेछन्।

इन्टरनेटको माध्यमबाट सामग्री उपलब्ध गराइने भएकाले ग्रामीण तथा दुर्गम स्थानका बालबालिकाले समेत सहजै शैक्षिक सामग्री प्राप्त गरी लाभान्वित हुने कम्पनीको विश्वास छ।  रासस