काठमाडौं- सर्वोच्च अदालतको २८आैं नेतृत्वका लागि सर्वोेच्च अदालतका स्थायी न्यायाधीश ओमप्रकाश मिश्रको नाममा सुनुवाई भएकाे छ । संसदीय सुनुवाई समितिले मिश्रविरुद्ध परेका उजुरीको बारेमा प्रश्न गर्दै अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने छ।
सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेका मध्ये पनि रोल क्रमका आधारले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश छान्ने चलन यस पटक तोडिएको थियो। यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए ।
जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा योग्यता पुगेको भित्र परेका थिए। त्यसमध्ये पहिलो रोजाइमा मिश्रको सिफारिस भई सुनुवाइ हुन लागेको हो। संवैधानिक परिषद्ले भदौ ७ गते मिश्रको नाम नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
मिश्रकाे नाम सिफारिस भएपछि १० दिन म्याद सहितको सूचना प्रकाशन गरेकाे थियाे । उक्त समयमा मिश्रमाथि ४ थान उजुरी परेको थियाे। चार मध्ये एक उजुरीकर्ताले नै फिर्ता लिई सकेका छन्। अब संसदीय विशेष समितिमा तीन थान उजुरी रहेका छन्। उक्त उजुरीमाथि २२ गतेदेखि सुनुवाइ समितिले अध्ययन गर्दै आज उनीमाथि सुनुवाई गर्ने मिति तय गरेको थियो। उजुरीकर्तासँग समेत छलफल गर्दै समितिले मिश्रलाई सुनुवाईका लागि बोलाएको हो।
काे हुन् न्यायाधीश मिश्र
विशेष अदालतमा रहँदा भ्रष्टाचारको मुद्दामा कठोर मापदण्ड अवलम्बन गर्दै चर्चामा आएका मिश्र २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका थिए। मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा ५ महिनाको मात्रै हुनेछ। १८ पुसमा मिश्रले अवकाश पाउनेछन्। यसपछि न्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि बाटो खुल्नेछ।
मिश्रको नाममा अस्वीकार भएमा उक्त पदमा नियुक्तीका लागि एकमात्र योग्य उम्मेदवार राणा मात्र हुने छन्। तर सुनुवाई समितिका सदस्यले यस पटक विगतको नजीर लागू नहुन सक्ने बताएका छन्।
प्रतिक्रिया