आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त


काठमाडौं – सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदकाे सोमबारको बैठकबाट उदयपुर सिमेन्टका महाप्रबन्धक पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रालयले पौडेलसँगै तारानाथ पौडेल र अनिलकुमार झाको नाम सिफारिस गरेको थियो। सरकारले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट उनलाइ नियुक्त गरेको छ। गोपालबहादुर खड्का अनियमितताको आरोप लागेर निगम छोडेपछि निमत्तको भरमा निगम चलिरहेको थियो।

यसअघि निगमको कार्यकारी निर्देशक छनौट तथा सिफारिश समितिले ५ जनामध्येबाट ३ जनाको नाम उद्योगमन्त्री मातृका यादबलाई सिफारिस गरेको थियो । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेलले उदयपुर सिमेन्टलाई नाफाको बाटोमा डोर्याएका थिए । उनले सोमबार नै महाप्रवन्धक पदबाट राजीनामा दिइसकेका छन् ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको मुद्दामा पदमुक्त भएपछि निगम नेतृत्वविहीन थियो । त्यसबीचमा सुशील भट्टराई निमित्त कार्यकारी निर्देशक रहेका थिए । खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।