बजेटमाथि ओलीले पटक-पटक किन असन्तुष्टि जनाउँछन् ?

बजेटमाथि ओलीले पटक-पटक किन असन्तुष्टि जनाउँछन् ?


काठमाण्डु–एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति फेरि असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीको संसदीय दलको बैठकमा शनिबार पनि अध्यक्ष ओलीले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि असन्तुष्टि जनाए ।

बजेटको विषयमा एकदुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै उनले प्रश्न गरे ।

अध्यक्ष ओलीले भने, ‘एकदुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठीक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एकदुई जनाको मुख हेरेर, हामी सरकारमा छौं भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौं । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’

ओलीको प्रश्न थियो, ‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर देशलाई विकासतर्फ अगाडि बढाउन हामी सरकारमा गएको हो, त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’

उनले भने, ‘यो निरपेक्ष गरिबीको रेखामुनि भन्ने कुरा जुन छ, यसलाई ५/७ वर्षभित्र समाप्त गर्न सकिन्छ, धेरै समय लाग्ने विषय होइन, तर यो चालु छ, हामीले घटाएर ९/१० लाख जनतलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाएर १७ प्रतिशतमा झोरेका थियौं, ३ वर्षमा बढेर २०.२६ प्रतिशत पुगेको छ ।’

ओलीले आफू नेतृत्वको सरकारको समयमा भन्दा अहिले गरिबी बढेको दाबी गरे । तीन वर्षअघिको सरकारले गरिबीको रेखामुनि रहेकाहरुको संख्या १७ प्रतिशतमा झारेकामा अहिले बढेर २०.२६ प्रतिशत पुगेको उनको दाबी थियो ।

ओलील‍े आफ्नो पार्टीमाथि निरन्तर हमला भइरहेको पनि बताए । दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविस्कार गरेर पार्टीमाथि हमला भइरहेको उनको भनाइ छ ।

राष्ट्रिय शक्तिलाई कमजोर बनाएर देश अघि बढ्नबाट रोक्नका लागि प्रतिक्रियावादीहरूले एमालेलाई कमजोर बनाउन लागिरहेका उनको दाबी छ ।