सरकार ढल्ने चर्चा : ओलीले बोलाएपछि मन्त्री महासेठ बालकोटमा

सरकार ढल्ने चर्चा : ओलीले बोलाएपछि मन्त्री महासेठ बालकोटमा


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ आफ्नो निवास बालकोटमा बोलाएर महासेठसँग अध्यक्ष ओलीले छलफल गरेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच भेटवार्ता भएपछि सरकार ढल्ने चर्चाकाबीच सोमबार राजनीतिक दलका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।

सभापति देउवाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेका छन् । स्रोतका अनुसार देउवाको प्रस्तावमा अध्यक्ष ओली सकरात्मक छन् । आज मात्रै ओलीले बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

प्रचण्डले भने हालकै गठबन्धनबाट ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । स्रोतका अनुसार कांग्रेससँग मोटामोटी सहमति भइसकेकाले ओली प्रचण्डको प्रस्तावलाई मान्न तयार छैनन् । यसैबीच आज बेलुका ओलीले मन्त्री महासेठलाई बालकोट बोलाउनुलाई अर्थपुर्णरुपमा हेरिएको छ । महासेठकै नेतृत्वमा एमालेले प्रचण्ड सरकारमा आफ्ना मन्त्री पठाएको थियो।