प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले दिए बधाई

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले दिए बधाई


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा सन्देश पठाएका छन् ।

बुधबार चीनका प्रधानमन्त्री लीले पत्र पठाउदैँ नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट बधाई ज्ञापन गरेका हुन् ।

‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट हार्दिक बधाई’, ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ ।

चीनका प्रधानमन्त्री लीले सन्देशमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन गर्न र चीन-नेपाल उच्चगुणस्तरीय बेल्ट एण्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधै मैत्रीपूर्ण चीन-नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गरेका छन् ।

उनले चीन-नेपाल हिमालय र नदीले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी भएको स्मरण गरेका छन् । त्यस्तै लीले कूटनीतिक सम्बन्ध कायम भएको ६९ बर्षदेखि दुबै देशले सधैं शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई पालन गर्दै आएकोमा यो समानता र विन-विन सहकार्यको राम्रो उदाहरण भएको उल्लेख गरिएको छ ।