चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्वपश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन् ।
नेपाल सरकारको लगानीमा निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाण्डुको मध्यभागमा पर्ने सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्वपश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।
‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नुपर्या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । सबैलाई सधैं राजनीति मात्रै, सधैं चुनाव मात्रै होइन । विकासमा ध्यान दिऊँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन, एकतामा जोड दिऊँ,’ प्रधानमन्त्री ओलीले भने, ‘विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्त्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग रहेको बताए ।
सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक १ अर्ब १३ करोड ३५ लाख ३४ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।
प्रतिक्रिया