अर्थमन्त्रीको भन्दा पार्टीको जस्तो बजेट देखियो : ओली

अर्थमन्त्रीको भन्दा पार्टीको जस्तो बजेट देखियो : ओली

बजेटमा केही कमी रहे पनि एमालेले बजेटलाई समर्थन र पारित गर्ने ओलीले स्पष्ट पारे ।


काठमाण्डु- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हालै सार्वजनिक गरेको बजेटप्रति कडा टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले अर्थमन्त्रीको भन्दा पनि पार्टीको जस्तो बजेट देखिएको टिप्पणी गरेका हुन् । एमाले संसदीय दलको शनिबार बसेको बैठकमा बोल्दै ओलीले सरकारमा सहभागी दलहरूसँग परामर्श नगरी बजेट आएको गुनासो गरे । ‘सत्तारुढ दलमा छलफल नहुँदा अर्थमन्त्रीको भन्दा पनि पार्टीको जस्तो बजेटजस्तो देखियो’, ओलीले भने ।

‘बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने ।

मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरू तयार गरी समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरू समाउन नसिकएकाले केही अन्यौलजस्तो देखिएको पनि ओलीको टिप्पणी छ ।

बजेटमा केही कमी रहेपनि एमालेले बजेटलाई समर्थन र पारित गर्ने उनले स्पष्ट पारे । ‘बजेटलाई हामी समर्थन गर्छौं र पारित गर्छौं । यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनु हुँदैन भन्ने होइन ।’

बजेटमा रहेका आफ्ना मतहरूलाई संसदमा हुने छलफलका क्रममा स्पष्ट राख्न र प्रयाप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरूलाई ओलीले निर्देशन पनि दिए ।