काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ । चिनियाँ प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । मंसिर १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री छ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री छ्याङसँगको भेटवार्तामा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुने कार्यक्रम तय भएको छ ।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बिआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने विषयमा विवाद कायमै रहँदा प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको हो ।
प्रधानमन्त्री ओली मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरूसँग छलफल गर्नेछन् । प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किने भ्रमण तालिका प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नेछन् भने चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरसहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले स्वागत गर्नेछ ।
प्रधानमन्त्रीको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित मात्र हो । मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृत गर्न बाँकी छ ।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओलीको राजधानी बेइजिङबाहेक कुनै चिनियाँ सहर जाने कार्यक्रम छैन । उनी हिमालय एयरलाइन्सको विमानबाट चीन जानेछन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाँदै छिन् । परराष्ट्रमन्त्री राणा मंसिर १३ गते बेइजिङ जानेछिन् । उनले मंसिर १४ गते चिनियाँ समकक्षी वाङ यीसहित चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने छिन् ।
प्रतिक्रिया