ओली–दाहाल वार्ता : शनिबार पार्टी एकताबारे नयाँ घोषणा हुने

ओली–दाहाल वार्ता : शनिबार पार्टी एकताबारे नयाँ घोषणा हुने


काठमाडौँ- पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उनीहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहेका हुन् ।

एकता संयोजन समिति मातहतका कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्थामा पार्टी एकतालाई निर्णायक मोडमा पुर्‍याउने जिम्मा दुवै अध्यक्षको काँधमा आएको छ। सोहीअनुसार ओली र दाहालबीच वार्ता भइरहेको छ। आजै दिउँसो ३ बजे ओली र दाहालबीच पुनः छलफल हुने जनाइएको छ।

खासगरी सांगठिनक संरचना र केन्द्रीय समितिमा समान सहभागिताको विषयले पार्टी एकता अड्किएको छ। बुधबार दाहालले पार्टी केन्द्रीय कार्यालयको विस्तारित भेला र ओलीले स्थायी समिति बैठक बोलाएर एकतासम्बन्धी छलफल गरेका थिए। दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।