काठमाण्डु – सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसबीच गृह र अर्थ मन्त्रालय साटफेर गर्ने गृहकार्य भइरहेको छ । निकटस्थ स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसबारे पटक–पटक कुराकानी भएको छ ।
अहिले एमालेबाट अर्थमन्त्रीमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल र गृहमन्त्रीमा कांग्रेसबाट नेता रमेश लखेक छन् । अब गृह एमालेलाई र अर्थ कांग्रेसलाई दिनेगरी साटफेरको गृहकार्य भइरहेको हो ।
प्रधानमन्त्री ओली कार्यसम्पादन सन्तोषजनक नदेखिएका केही मन्त्रीलाई बिदा गरेर नयाँ सांसदलाई मन्त्री बनाउने गृहकार्यमा छन् । त्यसबारे सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग छलफल हुँदा गृह र अर्थ मन्त्रालय साटफेरको कुरा उठेको कांग्रेस निकट स्रोतले जानकारी दियो ।
एमाले नेताहरू पनि अनौपचारिक रूपमा मन्त्रालय साटफेरबारे कुरा उठेको स्वीकार्छन् । तर, औपचारिक प्रतिक्रिया दिन भने कांग्रेस र एमाले दुवै दलका नेताहरू तयार भएनन् ।
स्रोतका अनुसार कांग्रेसले अर्थमन्त्री पाउने अवस्था आएमा गृहमन्त्री लेखकलाई तानेर नयाँ नेतालाई मन्त्री बनाएर पठाउने तयारी गरेको छ । सभापति देउवा र प्रधानमन्त्री ओलीसमेत कांग्रेस महामन्त्री गगन थापालाई अर्थमन्त्री बनाउन सकारात्मक छन् । तर, थापाले अर्थमन्त्री बनेर जान तयार रहेको आफूले अर्थसहित उपप्रधानमन्त्री पनि पाउनुपर्ने बताएको निकटस्थ स्रोत बताउँछ ।
थापालाई उपप्रधानमन्त्री दिँदा कांग्रेसबाट दुई उपप्रधानमन्त्री हुने भएकाले के गर्ने भन्नेमा नेताहरूबीच छलफल जारी रहेको स्रोत बताउँछ । कांग्रेसबाट अहिले उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री भएर प्रकाशमान सिंहले नेतृत्व गरिरहेका छन् ।
एमालेमा भने पौडेललाई नै गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी रहेको निकटस्थ स्रोतले बतायो ।
एमालेभित्र गुटगत हिसाव नमिल्दा ओली स्वयंले पौडेललाई अर्थबाट गृहमा सार्न खोजेको पनि उनी निकट नेताहरू बताउँछन् । एमालेमा पहिला ओलीको विश्वाशपात्र रहेका उपाध्यक्ष पौडेल अहिले उनीसँग छैनन् । ओलीले महासचिव शंकर पोखरेललाई काखी च्यापेपछि पौडेल पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी निकट बनेको स्रोतहरू बताउँछन् ।
अर्थमा आफ्नो चाहनाविपरीतका काम धेरै पौडेलले भण्डारीसँगको सल्लाहमा गर्न लागेपछि मन्त्रालय परिवर्तन गर्न चाहेको स्रोत बताउँछ । पौडेलको अर्थ मन्त्रालयमा प्रफमेन्स राम्रो नभएको रिपोट ओलीसम्म पुगेको उनको सचिवालयले जनाएको छ । साथै उनले एउटा कर्पोरेट समूहको हितमा मात्रै काम गरेको आरोप पनि लाग्ने गरेको छ ।
प्रतिक्रिया