सत्ता सहकार्यलाई बलियो बनाउन ओली-देउवाबीच छलफल

सत्ता सहकार्यलाई बलियो बनाउन ओली-देउवाबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

शनिबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए।

उनका अनुसार, दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो । विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र उक्त भ्रम चिर्नेगरी दुई नेताबीच छलफल भएको हो ।

आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्ति लगायतका विषयमा उनीहरूबीच छलफल भएको थियो ।

पौडेलले भने, ‘बाहिर भएका हल्लामा सत्यता छैन, सरकारले गम्भीर भएर जनताको हितको पक्षमा काम गर्ने र आवश्यक सहजीकरण दुवै दलले गर्ने भन्नेमा दुवै नेता एकमत देखिनुहुन्छ ।’

देउवा थाइल्यान्ड भ्रमणमा हुँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सरकार ढल्ने दाबी गरिरहेका थिए ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। देउवा थाइल्यान्डको ब्यांककबाट फर्किएपछि उनीहरुबीच पहिलोपल्ट भेटवार्ता भएको हो।