जनकपुर– दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार जनकपुरमा आउँदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन्।
उनले मोदीलाई जानकी मन्दिरमा स्वागत गर्ने छन्। विमानस्थलमा भने रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्। ओली यतिबेला संघीय प्रहरी इकाइ, जनकपुरमा प्रतीक्षारत छन् ।
जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम रहेको छ । भ्रमण कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जाने र मन्दिरमा उनले विशेष पूजाअर्चना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहनेछ । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्नेछन् ।
प्रतिक्रिया