भारत, चीन र अमेरिकाबारे के भन्छ ओलीको प्रतिवेदन ?

भारत, चीन र अमेरिकाबारे के भन्छ ओलीको प्रतिवेदन ?


काठमाण्डु- एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको ८औं  केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । छलफलका लागि प्रस्तुत प्रतिवेदनमा उनले नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा टिप्पणी गर्दै, भारत, चीन र अमेरिकासँगको सम्बन्धको गहिरो विश्लेषण गरेका छन् ।

प्रतिवेदनमा भारत भ्रमणका लागि उनलाई नआएको निम्तोप्रति अप्रसन्नता व्यक्त गरेका छन् । प्रतिवेदन भारत र अमेरिका विरोधी तर चीनपरस्त देखिन्छ जसबाट ओलीले भारतलाई सन्देश दिन खोजेको देखिन्छ ।

प्रतिवेदनमा राष्ट्रिय हित, स्वाभिमान, राष्ट्रिय मनोबल, भूराजनीति, सन्तुलित बाह्य सम्बन्ध जस्ता शब्द धेरै ठाउँमा प्रयोग गरेका छन् । प्रतिवेदनमा नेपालको बाह्य सम्बन्ध र राष्ट्रिय हितका विषयमा राम्ररी व्याख्या ओलीले गरेका छन् । ओलीले भारत, चीन र अमेरिकाको भूमिकालाई व्याख्या गर्दै यी देशहरूको नेपालसँगको रणनीतिक स्वार्थका विषयमा मिहिन ढंगले विश्लेषण गरेका छन् ।

बदलिँदो भू–राजनीतिका कारण नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा थप जटिल बन्दै गएको ओलीको विश्लेषण छ । ‘बदलिँदो भूराजनीति, भू–अर्थनीति र शक्ति राष्ट्रहरूका प्रतिस्पर्धाका बीचमा नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने अभिभारा थप जटिल बन्दै गएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले केही नयाँ अवसर पनि सिर्जना गरेको ओलीले भनेका छन् । नेपाल–भारत, भारत–पाकिस्तान, दक्षिण एसिया, अमेरिका–चीन, रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, हुथी विद्रोही, एक चीन नीति, म्यान्मारको लोकतन्त्र, सार्क, बिमस्टेक, जि–७, ब्रिक्सलगायतका विषयमा ओलीले आफ्ना धारणा व्यक्त गरेका छन् ।

यसका साथै दक्षिण एशियामा भारतको भूमिका तथा ताइवानमा अमेरिकी भूमिका, बंगलादेशको घटनामा पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । ताइवान र बिआरआई सहकार्यका सन्दर्भमा प्रतिवेदनमा चीनको प्रशंसा ओलीले गरेका छन् ।

भारतलाई हेर्ने दृष्टिकोण

ओलीको प्रतिवेदन भारतविरोधी छ । यद्यपि उनले भारतसँगको सम्बन्धमा उपलब्धि र असन्तुष्टिको मिश्रित भाव व्यक्त गरेका छन् । ओलीको प्रतिवेदनले भारतप्रति यसअघि राखेको धारणा खासै बदलेको देखिँदैन । तर, चीनप्रति उनको स्थिर र सकारात्मक भाव पनि यथावत् नै छ ।

भारतसँग बोली र व्यवहारमा विरोधाभास सम्बन्ध राखेका ओलीले कागजी प्रतिवेदनमा भने अझै दक्षिण छिमेकीप्रति तुस बाँकी राखेका छन् । ‘भारतसँग नेपाल लगायत विभिन्न छिमेकी मुलुकका कतिपय विवादित विषय अझै समाधान हुन सकेका छैनन्,’ ओलीले प्रतिवेदनमा लेखेका छन् ।

‘कुनै पनि स्वतन्त्र राष्ट्रले अरुको आदेश, निर्देश या हितका लागि काम गर्नुपर्ने बाध्यता अब नरहोस् । हामी स्वाधीनताको साँचो प्रयोगमा जोड दिन चाहन्छौँ । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छिमेकी लगायत सबै मित्र राष्ट्रहरुसँग विश्वसनीय सम्बन्ध र आर्थिक साझेदारी विकास गर्न चाहन्छौँ । नेपाल छिमेकी लगायत मित्र राष्ट्रका जायज चासो र सरोकारप्रति संवेदनशील छ । त्यसैगरी छिमेकी र सबै मित्र राष्ट्रहरु पनि नेपालको राष्ट्रिय हित, यसको स्वतन्त्र विदेश नीति, वाह्य सम्बन्ध सञ्चालन र संवेदनशीलताप्रति संवेदनशील, सहयोगी र सकारात्मक बनून् भन्ने नेपाल चाहन्छ ।’ भारतलाई लक्षित गर्दै उनले लेखेका छन् । 

भारतले छिमेकी देशको सार्वभौमसत्ता र सरोकारलाई आवश्यक ध्यान नदिएको बुझाइ ओलीको छ । भारतको यस कार्यले गर्दा यस क्षेत्रको साझेदारी अपेक्षित रूपमा अगाडि बढ्न नसकेको, छिमेकी देशहरूको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारलाई भारतले ध्यान नदिएको, भारतसँग यस क्षेत्रका देशहरूको द्विपक्षीय र बहुपक्षीय साझेदारी अपेक्षित मात्रामा अगाडि बढ्न नसकेको ओलीले प्रतिवेदनमा लेखेका छन् ।

भारतले नेपालको सरोकार नबुझ्दा भारतसँग रहेका सीमा विवाद, १९५० को सन्धि, व्यापार–घाटालगायतका विषयहरू अझै थाँती रहेको पनि उनले उल्लेख गरेका छन् ।

चीनप्रतिको हेराइ 

चीनसँगको सम्बन्धलाई ओलीले आफ्नो प्रतिवेदनमा सकारात्मक रूपमा प्रस्तुत गरेका छन् । ओलीले चीनसँग १९ मंसिरमा हस्ताक्षरित बिआरआई फ्रेमवर्क सहकार्यलाई निकै ठूलो उपलब्धीका रुपमा व्याख्या गरेका छन् । बीआरआईलाई नेपालको विकासका लागि सुनौलो अवसर भन्दै यसलाई भ्रम र मिथ्याप्रचारबाट मुक्त गर्न उनले आह्वान गरेका छन् ।

ऋण लिने विषयमा अन्य दलहरूसँग साझा अवधारणा बनेको भन्दै यसलाई नेपालको दीर्घकालीन हितमा महत्वपूर्ण कदमको रूपमा उनले उल्लेख गरेका छन् ।

‘कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुर्‍याउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुर्‍याउने विश्वास लिइएको छ । गुण दोषका आधारमा होइन, आफ्ना निश्चित राजनीतिक आग्रह या भूराजनीतिक स्वार्थमा कुनै पनि सहायता परियोजनाका विषयलाई अनावश्यक राजनीतिकरण गर्नु र विवादित बनाउनु राष्ट्रिय हितमा हुँदैन भन्ने विषयमा नेकपा (एमाले) स्पष्ट छ,’उनले भनेका छन् ।

भारत–चीन सहमति

सीमा विवादलाई कम गर्न भारत र चीनबीच हालै भएको ६ बुँदे सहमति सकारात्मक रहेको उल्लेख प्रतिवेदनमा छ । ‘झण्डै ४ वर्षपछि चीन र भारतबीच सीमाको तनावलाई अन्त्य गर्ने विषयमा संवाद भएको छ र उनीहरूले ६ बुँदे सहमति सार्वजनिक गरेका छन्,’ प्रतिवेदनमा अध्यक्ष ओलीले भनेका छन्, ‘दुई छिमेकीहरूबीच सम्बन्ध सामान्यीकरण हुनु नेपालको पनि हितमा छ ।’

बंगलादेशमा ठूलो राजनीतिक उथलपुथल भएको जनाउँदै ओलीले विद्यार्थी आन्दोलन थेग्न नसकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछिको अवस्थालाई उनले चित्रण गरेका छन् ।

ट्रम्पको पुनरोदय

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्व राजनीति र अर्थतन्त्र तरंगित भएको बुझाई ओलीको छ । ‘अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय एवं विदेशी उत्पादनमा अतिरिक्त भन्सार लगाउने संरक्षणवादी नीतिहरूको घोषणा, पनामा नहर, क्यानाडाका कतिपय भूभाग र ग्रिनल्याण्डलाई नियन्त्रणमा लिने चेतावनी र दशौँ लाख आप्रवासीहरूलाई अमेरिकाबाट बाहिर निकाल्ने वाचाले विश्व राजनीति र अर्थतन्त्रलाई तरंगित गरेको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन् ।

नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै अमेरिका कसरी अगाडि बढ्छ भन्ने कुराको प्रभाव विश्व राजनीतिमा गहिरो गरी पर्ने उनले बताएका छन् । ‘अमेरिका–चीन तनावको प्रभाव नेपालमा कस्तो पर्नेछ भन्ने कुरालाई पनि हामीले सूक्ष्म ढङ्गले अध्ययन–विश्लेषण गर्नुपर्छ,’ ओलीले लेखेका छन् ।

अमेरिकाको ‘उत्तेजनात्मक गतिविधि’ ले क्षेत्रीय स्थिरता र विश्व शान्तिलाई असर पुर्‍याएको तर्क ओलीको छ । सैन्य ध्रुवीकरणले समस्याहरू जटिल बनाउने भन्दै नेपालले तटस्थता कायम गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

सार्क र बिमस्टेक

भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको ओलीको टिप्पणी छ । ‘सार्क निष्प्रभावी र निष्क्रिय अवस्थामा पुगेको छ । बिमस्टेक कामकाजी बन्नसकेको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘सार्क र बिमस्टेक निस्क्रिय हुँदा गरिबी निवारण, जलवायु परिवर्तन र अन्तर–राज्य अपराध रोक्न आवश्यक पर्ने क्षेत्रीय सहकार्य पनि कमजोर बनेको छ ।’

दक्षिण एसियामा बढिरहेको दक्षिणपन्थी अतिवाद र विभिन्न मुलुकमा लोकतन्त्रमाथि भइरहेका सैन्य हस्तक्षेपप्रति चिन्तित रहेको उल्लेख ओलीले गरेका छन् । दुई ठूला छिमेकी भारत र चीनबीचको सम्बन्ध सामान्यीकरण हुनु नेपालको हितमा रहेको उनको भनाइ छ ।

अमेरिका र ताइवान सम्बन्ध

अमेरिका आफैँले स्वीकारेको ‘एक चीन नीति’ विपरीत गएको आरोप ओलीको छ । ‘विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ,’ प्रतिवेदनमा लेखिएको छ ।

एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रीय स्थायित्वका लागि हानिकारक भएको उनको विश्लेषण छ ।

ओलीले प्रतिवेदनमा रूस–युक्रेन युद्धको पनि चर्चा गरेका छन् । तेस्रो वर्षमा प्रवेश गर्नलाग्दा पनि रुस–युक्रेन युद्ध अन्त्यको कुनै सम्भावना नदेखिँदा विश्वलाई असर गरेको भनाइ ओलीको छ ।

ओलीले आफू म्यान्मारमा तत्काल प्रजातन्त्रको पुनस्थापनाको पक्षमा रहेको बताएका छन् । ‘नेकपा (एमाले) रुस–युक्रेन युद्ध यथाशीघ्र अन्त्य होस्, दुवै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रूपमा रहन सकून् र त्यो भूभाग विश्व शक्ति राष्ट्रहरूको शक्ति प्रदर्शनको थलो र क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनोस् भन्ने मान्यता राख्दछ,हामी म्यान्मारमा लोकतन्त्रको तत्काल पुनस्थापनाको पक्षमा छौं,’ प्रतिवेदनमा ओलीले भनेका छन् ।

ओली इजरायल–प्यालेस्टिनबीचको समस्या समाधान गर्न ‘दुई राज्य समाधान’ प्रस्तावको पक्षमा उभिएका छन् । ‘दुई राज्य समाधान’ विकल्पको कार्यान्वयनबाट मात्रै त्यस क्षेत्रमा दिगो शान्ति कायम हुन सक्ने विश्वास उनले व्यक्त गरेका छन् ।

इजरायल–हमासबीचको युद्धका बाछिटा अन्यत्र पनि फैलिन थालेको ओलीले उल्लेख गरेका छन् । प्यालेस्टाइनी जनताको समर्थनको नाममा यमनका हुथी विद्रोहीहरूले लालसागरमाथि गरिरहेको लगातारको आक्रमणले त्यस क्षेत्रको जलमार्ग समेत प्रभावित भएको उनले जनाएका छन् ।

ओलीले दुई शताब्दी पुरानो अमेरिका–युरोपकेन्द्रित विश्व व्यवस्था विस्तारै कमजोर हुँदै गएको बताएका छन् । अमेरिका–युरोप कमजोर हुँदै जाँदा एसियाको उदय हुँदै गएको उनले जनाएका छन् ।

भूराजनीतिक सन्तुलन र नेपालको नीति

ओलीले नेपालले असंलग्न र सन्तुलित परराष्ट्र नीति अपनाउँदै तीन प्रमुख शक्तिराष्ट्रहरूसँग सम्बन्ध व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । छिमेकीहरूको संवेदनशीलता र क्षेत्रीय स्थिरता कायम राख्दै नेपालले आन्तरिक विकास र साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख उनले गरेका छन् । भूराजनीतिक दवाबबाट जोगिंदै नेपालले आफ्ना विकास लक्ष्यलाई सुरक्षित राख्नुपर्ने सुझाव ओलीको छ ।

ओलीको प्रतिवेदनले नेपालले आफ्ना छिमेकी र प्रमुख साझेदारहरूसँगको सम्बन्धलाई सन्तुलित रूपमा व्यवस्थापन गर्दै तटस्थ परराष्ट्र नीति कायम गर्नुपर्ने कुरामा ध्यान केन्द्रित गरेको छ ।

अमेरिकाको ताइवानप्रतिको नीति, भारतसँगका विवाद, र चीनसँगको बीआरआई साझेदारीले नेपालको परराष्ट्र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । ओलीले यी चुनौती र अवसरलाई विवेकपूर्ण ढंगले सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।