मध्यरातमा प्रधानमन्त्री ओलीले लगे प्रचण्ड, गृहमन्त्री र विष्णु पौडेललाई चन्द्रागिरी

मध्यरातमा प्रधानमन्त्री ओलीले लगे प्रचण्ड, गृहमन्त्री र विष्णु पौडेललाई चन्द्रागिरी


काठमाडौं – बिहीबार मध्यराती प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु चन्द्रागिरी पुगे ।

प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपाका महासचिव विष्णु पौडेललगायतका नेताहरु चन्द्रागिरी पुगेका थिए ।

मध्यरातमा किन पुगे चन्द्रागिरी ?
यसअघि नै चन्द्रागिरी जाने तय भएपनि नेकपा नेताहरूले यो बसाइलाई गोप्य नै राखेका थिए । तर उनीहरु चन्द्रागिरी गएको कुरा बाहिर आएको छ ।

यसअघि भनिएको जस्तो भए नेकपाभित्रको एकताको मिल्न बाँकी विषय चन्द्रागिरी रिसोर्टमा मिल्नेछ ।

राति अबेरसम्म पार्टी एकता टुंगो लगाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेकपामा पार्टी एकता भएको एक वर्ष पुग्दा पनि जिल्ला र त्यसभन्दा तल्ला कमिटीहरुको एकीकरण हुन सकेको छैन ।

यस्तै नेकपाका एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादलाई कसरी मिलाएर एकता सम्पन्न गर्ने भन्ने विषयमा चन्द्रागिरीमा बसेको बैठकमा छलफल केन्द्रीत छ ।

पछिल्लोपटक ओली पक्षले माधव नेपाल पक्षलाई पूर्वएमालेले पाउने कोटाबाट ७७ मध्ये दुई जिल्ला अध्यक्ष दिएपछि नेपाल पक्ष आक्रोशित छन् ।

नेता नेपालले दुवै अध्यक्षलाई सम्मानजनक एकीकरण नभए सबै जिल्लामा सानान्तर कमिटी गठन गर्ने चेतावनी दिइसकेका छन् ।

नेपाललाई कसरी चित्त बुझाएर पार्टी एकीकरणलाई टुंगोमा पु¥याउने भन्नेबारे पनि चन्द्रागिरीमा छलफल भएको बताइएको छ ।

चन्द्रागिरी हिल्सको रिसोर्ट केही समयअघि मात्र सञ्चालनमा आएको हो । केही दिनअघिमात्र प्रचण्ड परिवारसहित एक रात बिताएर फर्किएका थिए ।

यसअघि उनीहरु जोरपाटीस्थित गोकर्ण रिसोर्ट वा विभिन्न व्यापारीहरुको घरमा गएर बैठक बस्ने गर्थे ।