नयाँ सरकार गठन गर्नुको कारण खुलाउदैँ ओलीले प्रधानमन्त्री प्रचण्डलाई पठाए पत्र

नयाँ सरकार गठन गर्नुको कारण खुलाउदैँ ओलीले प्रधानमन्त्री प्रचण्डलाई पठाए पत्र


काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् ।

बुधबार राति अध्यक्ष ओलीले पत्रमार्फत प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएकाे जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुकाे कारण पनि खुलाएका छन् ।

अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको बताएका छन् ।

‘प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ,’ पत्रमा भनिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार दल रहेको नेकपा एमालेले आफ्ना सबै मन्त्रीको राजीनामा प्रधानमन्त्रीलाई बुझाएको छ। प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधानमन्त्री रघुवीर महासेठसहित आठ जना मन्त्रीहरू थिए।