राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय प्रस्थान गरेका हुन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो । ओलीको टोलीमा पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन् । विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरूलगायतले बिदाइ गरेका छन् ।

प्रधानमन्त्री ओलीले १० असोजमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय छ ।

प्रधानमन्त्री ८ असोजमा महासभाको साधारण बहसको उद्घाटन सत्र र ९ असोजमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।