एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको शानदार जित

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको शानदार जित


काठमाण्डु – कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएकाे हाे ।

ओमानका लागि मोहम्मद नदिमले ६५, सन्दीप गाउदले ४६ र आयन खानले २९ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट लिए ।

सन्दीपले विश्व कीर्तिमान बनाउने क्रममा एकै ओभरमा दुई विकेट लिए । आदिल शाफिकलाई आउट गरेसँगै सन्दीपले विश्व कीर्तिमान बनाए । उनले १२.३ ओभरमा विकेट लिए । १२.६ ओभरमा सन्दीपले ओमानका जिशान मक्सोदलाई शून्यमा आउट गराउँदै एकै ओभरमा दुई विकेट लिए । यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरमै विकेट लिए । उनले कास्यप प्रजापतिलाई २५ रनमा आउट गराउँदै तीन विकेट लिएका हुन् ।

करणले मोहम्मद नदिम, फायाज बट, कलिमउल्लाहलाई आउट गराए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ओमानका सान्दीप गाउदलाई ४६ र आयन खानलाई २९ रनमा आउट गराएका थिए । त्यस्तै, ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा आउट गराए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रन बनाएपछि ओमानले विशाल लक्ष्य पाएको हो ।