मुम्बईको पसलबाट ३६ हजार रुपैयाँको प्याज चोरी

मुम्बईको पसलबाट ३६ हजार रुपैयाँको प्याज चोरी


एजेन्सी – मुम्बईमा १६८ किलो प्याज चोरी भएको छ । घटना मुम्बईको डोगरी बजारको हो, जहाँ ३६ हजार रुपैयाँको प्याज चोरी भएको हो । प्याज चोरी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

अकबर शेख र इरफान शेख डोगरी बजारमा तरकारी बेच्ने काम गर्दै आएका छन् । आइतबार जब उनीहरुले आफ्नो पसल खोले प्याज गायब भएको पाए । अकबरले ११२ किलो र इरफानले ५६ किलो प्याज बिक्रीका लागि बोरामा हालेर राखेका थिए । दुवैको १६८ किलो प्याज चोरी भएको छ ।

दुवैले आसपासमा प्याजको व्यापक खोजी गरे तर कतैपनि फेला परेन । यसपछि उनीहरु डोगरी प्रहरी चौकीमा पुगे र अज्ञात मानिसको बिरुद्धमा प्याज चोरीको मुद्धा दर्ता गराए । प्रहरी पनि समयमै पुगेर घटनाको छानविन गरिरहेको छ । प्रहरीले चोरीको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । दुवैसँग सोधपुछ जारी रहेको छ ।