नेपाली अर्थोडक्स चियाको माग विदेशमा उच्च, ८८ प्रतिशत भारत निर्यात

नेपाली अर्थोडक्स चियाको माग विदेशमा उच्च, ८८ प्रतिशत भारत निर्यात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा उत्पादन हुने अर्थोडक्स चियाको माग विदेशमा उच्च भएको छ । नेपालमा उत्पादित ८८ प्रतिशतभन्दा बढी अर्थोडक्स चिया भारत निर्यात हुने गरेको एक अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७९÷८०मा घरेलु बजारमा १२०.८६ मिलियन रुपैयाँ मूल्यको १२८ टन जैविक प्रमाणित अर्थोडक्स चिया बिक्री भएको थियो भने ३०६.१६ मिलियन रुपैयाँ मूल्यको ५२३ टन भारत निर्यात गरिएको थियो । यस्तै २५७.६५ मिलियन रुपैयाँ मूल्यको १७९ टन तेस्रो देशहरूमा निर्यात गरिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको छ । प्रशोधित अर्थोडक्स चियाको बिक्रीबाट २ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपियाँ आम्दानी भएको कार्यालयले जनाएको छ ।

जसमा निर्यातको हिस्सा ८६.७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर रहेको देखिन्छ । जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११.९ र ८८.१ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार अर्थोडक्स चिया ११.४ प्रतिशत मात्र आन्तरिक बजारमा खपत भइरहेको छ । यस्तै अर्गानिक सर्टिफाइड चिया २१.६३ प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ ।

कार्यालयले निकालेको प्रतिवेदनले जापान, चीन र रुस जस्ता देशहरूमा बजार विविधीकरणको आवश्यकतालाई प्रकाश पारेको छ । भारतभन्दा बाहिर निर्यात विस्तार भएपछि नेपाली अर्थोडक्स चिया उत्पादकहरूलाई राम्रो मूल्य प्राप्त भइरहेको र बजार निर्भरता कम गर्न मद्दत पुगेको छ ।

नेपालले वार्षिक ७,८३८ टन अर्थोडक्स चिया प्रशोधन गर्छ । तेस्रो देशहरूमा अर्थोडक्स चियाको निर्यात ११.४ प्रतिशत छ ।

अर्थोडक्स चियाले परम्परागत विधिहरू प्रयोग गर्छ, जसमा टिप्ने, सुकाउने, रोल गर्ने, अक्सिडेशन गर्ने र सुकाउने समावेश छ ।
तेस्रो देशहरूमा जैविक प्रमाणित अर्थोडक्स चियाको निर्यात २१.६३ प्रतिशत छ । बैंकको प्रतिवेदनले जापान, चीन, नेदरल्याण्ड्स, क्यानडा, रुस, पोल्याण्ड, टर्की र दक्षिण कोरियामा नेपाली अर्गानिक अर्थोडक्स चियाको माग उच्च छ ।

नेपालले अर्थोडक्स चिया खेती गर्न थालेको १५७ वर्ष पछि यो चियाले सेप्टेम्बर २०२० मा आफ्नै ट्रेडमार्क प्राप्त गरेको छ । ट्रेडमार्कमा ‘हिमालयबाट नेपाल चियाको गुणस्तर’ भन्ने वाक्य समावेश छन् ।

कोशी प्रदेशमा १०० वटा अर्थोडक्स चिया प्रशोधन कारखानाहरू छन्, जसमध्ये २१ वटा अर्गानिक प्रमाणित छन् ।
अर्गानिक प्रमाणित अर्थोडक्स चियाको उत्पादन लागत प्रति किलोग्राम ४५.१६ रुपैया छ भने अप्रमाणित अर्गानिक अर्थोडक्स चियाको उत्पादन लागत प्रति किलोग्राम २४.७२ रुपैया छ ।

नेपालको ८४ अर्थोडक्स चिया उद्योगहरूमा कुल लगानी ३ अर्ब ६८ करोड ७४ लाख रुपियाँ रहेको छ । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणमा छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी हो । २ वटा उद्योगमा मात्रै वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा यसको आर्थिक प्रभाव पनि उल्लेखनीय देखिएको । अर्थोडक्स चियाको गुणस्तर, प्राकृतिक स्वाद, र सुगन्धले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको अध्ययनले देखाएको छ । विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाहरूमा ओर्थोडक्स चियाको व्यावसायिक खेती विस्तार भइरहेको छ ।