एजेन्सी – अल काइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेका छन् । यद्यपि, हम्जा बिन लादेनको मृत्यु कहाँ र कहिले भयो भन्ने कुरा नाम नखुलाइएको रिपोर्टमा कुनै जानकारी उपलब्ध छैन । गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई एक मिलियन डलर उपहारको घोषणा गरेको थियो ।
लगभग ३० वर्ष उमेर अनुमान गरिएका हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए । बुधबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे सोधिएको प्रश्नको जवाफ दिन मानेनन् । यसका साथै ह्वाईट हाउस नेशनल सेक्युरिटीका एड्भाइजर जोन बोल्टनले पनि यसबारे कुनै जवाफ दिएनन् ।
बिन लादेनलाई अमेरिकाका विशेष सैन्य दलले सन् २०११ को मेमा पाकिस्तानमा हत्या गरेको थियो । हम्जाले बुवाको हत्याको बदला लिन जिहादीहरुलाई अनुरोध गरिरहेका थिए । उनले बिद्रोहका लागि अरेबियन पेनिन्सुलालाई पनि आह्वान गरेका थिए । विभिन्न रिपोर्टले उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा बस्दै आएको बताएको थियो ।
सन् २०११ मा ओसामा बिन लादेनको पाकिस्तानस्थित एबटाबाद घरबाट भेटिएका केही दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्वका लागि तालिम दिँदै गरिएको जानकारी पाइएको अमेरिकाले बताएको थियो ।
प्रतिक्रिया