पश्चिमी वायुको प्रभाव भोलि र पर्सि बढी रहने, ४ प्रदेशमा बर्षा हुने

पश्चिमी वायुको प्रभाव भोलि र पर्सि बढी रहने, ४ प्रदेशमा बर्षा हुने


काठमाण्डु– पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएको छ ।

उक्त प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आजैबाट बदली रहेको छ । आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ ।

चिसोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको भन्दै यसका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सावधानीका उपायहरू तथा सतर्कता अपनाउन अनुरोध महाशाखाले गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले हुस्सु कुहिरो नियमित अनुगमनसँगै दैनिक बुलेटिन जारी गरिरहेको जनाएको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ ।

आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।