पहिरोले ठाउँ-ठाउँका सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

पहिरोले ठाउँ-ठाउँका सडक अवरुद्ध, सयौं यात्रु अलपत्र


काठमाण्डु-अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसै क्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ ।

हिजो साँझदेखि परेको वर्षाले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । मङ्गला गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

त्यसैगरी फापर खेतको घुमाउने भिरमा पहिरो जाँदा पैदल हिँडेर सिमलचौर निस्कन प्रयोग गरिने मङ्गला–३ पखेरमा पनि पहिरो जाँदा स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ । बेनी–दरबाङ सडक पाखो र भिरकाबीचमा खनिएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

अविरल वर्षापछि गएको पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–१३ मझुवास्थित सात किलो भन्ने ठाउँमा पहिरो खसेकोे हो ।

सडक अवरुद्ध हुँदा गोरखा सदरमुकामबाट सङ्घीय राजधानी काठमाडौंसहित पोखरा, चितवनलगायत स्थानबाट आउनेजाने सवारीसाधन रोकिएका छन् ।

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए ।

लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौंलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।

पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौंबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएका छन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका १ जालीबगरमा सुक्खा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन आज बिहानबाट पहिरो पन्छाउन सुरु गरिएको छ ।

पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले सो क्षेत्र नजिक जान रोक लगाएको थियो । बाटो पूर्णरुपमा बन्द भएकाले बझाङ–अत्तरीया खण्डमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ । पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको छ ।