पहिरोमा एकै परिवारका ५ बेपत्ता, ४ जनाको मृत्यु

पहिरोमा एकै परिवारका ५ बेपत्ता, ४ जनाको मृत्यु

फाइल तस्बिर

काठमाण्डु-काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार बेपत्ता भएको हो ।

पहिलोले ३ घरमा पूर्ण क्षति पुर्‍याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर बेपत्ता भएको हो ।

पहिरोमा परी बेपत्ता भएकाहरुको उद्धार गर्न विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

त्यस्तै पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखु पाखरमा–३ का पूर्ववडाध्यक्ष काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको छ । घरमा सुतिरहेको बेला आएको पहिरोमा उनीहरूको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको अन्य विभिन्न क्षेत्रमा पनि अविरल वर्षाको कारण जनजिवन प्रभावित भएको छ । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्ग लगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएको छ ।

काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पनौती नगरपालिकाका प्रमुख भण्डारीले घटनास्थलसम्म पुग्ने स्थिति नरहेको बताए । उनका अनुसार पहिरोमा परेर के कति क्षति भयो भन्ने विवरण संकलन गर्न पनि सकिएको छैन । केही स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।