मुग्लिन – पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।
सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । पहिरोले घर, गाडी, टिपर, डोजर बगाएको छ ।
उनले भने, ‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।’
मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ ।
बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए ।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले बताए ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने जनाए ।
उनले भने, ‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।’
मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले बताएका छन् । सडक अवरुद्ध भएपछि राजधानी काठमाण्डु जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।
पत्रकार धनबहादुर गुरुङ, धादिङ
प्रतिक्रिया