बागलुङमा पहिरोमा परी एकै घरका तीनको मृत्यु, भाग्यले बाँचे २ छाेरी

बागलुङमा पहिरोमा परी एकै घरका तीनको मृत्यु, भाग्यले बाँचे २ छाेरी


बागलुङ – भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउंदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउंपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए । इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसंगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ ।

मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ । रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउंमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउंपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ । यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताए । जिल्लाभर भएको क्षतिको पूर्ण विवरण आउन बांकी रहेको प्रहरीले जनाएको छ ।