१ करोडभन्दा बढी मूल्यको सुनचाँदी र नगदसहित ३ जना पक्राउ

१ करोडभन्दा बढी मूल्यको सुनचाँदी र नगदसहित ३ जना पक्राउ


काठमाण्डु-कैलालीको भजनीबाट एक करोड रुपैयाँ भन्दाबढी मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ परेका छन् ।

भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट सशस्त्र प्रहरीले शनिबार सुन, चाँदी नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको हो ।

उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए ।

पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।