पाकिस्तानमा परमाणु ग्यास लीक भएको आशंका, ६ जनाको मृत्यु

पाकिस्तानमा परमाणु ग्यास लीक भएको आशंका, ६ जनाको मृत्यु


एजेन्सी – पाकिस्तानमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस बिरामी भएका छन् । परमाणु ग्यास लीक भएका कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।

स्थानीय मीडियाले यसलाई विषालु ग्यास भएको उल्लेख गरेका छन् । घटना कराचीको केमारी क्षेत्रमा आइतबार राती अबेर भएको थियो । प्रहरीका अनुसार बिरामीलाई अस्पतालमा भर्ना गराइएको छ र हालसम्म पनि घटनाको कारणबारे थाहा हुन सकेको छैन ।

यसैबीच समुद्री मामिला मन्त्री अली जैदीले ट्वीट गर्दै भनेका छन्, “मैले पाकिस्तानी नौसेनासँग अनुरोध गरेको छु कि उनीहरुले केमरी क्षेत्रमा विषालु ग्यासको घटनाको स्रोतको जाँच गरुन् र यसलाई रोक्ने उपाय गरुन् ।” उनले सेनाको न्यूक्लियर बिलिकल केमिकल ड्यामेज टीम पठाउन आग्रह समेत गरेका छन् ।

अस्पतालमा भर्ना भएका मानिसले आफुहरुलाई स्वास प्रश्वास सम्बन्धि समस्या भएको बताएका छन् । यो ग्यासको चुहावट केमरी जेट्टी बन्दर्गाहामा एक मालवाहक जहाजबाट रसायन झार्ने क्रममा भएको प्रहरीले जनाएको छ । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घटनाको जानकारी लिएका छन् । उनले उक्त घटना बन्दर्गाहा परिसरमा नभएको बताएका छन् ।

यसैगरी डीआईजी शरजील खरनालका अनुसार तरकारीले भरिएको एक कन्टेनरबाट विषालु ग्यास निक्लिएको र यसबाट मानिसहरु बिरामी भएका छन् ।