पाकिस्तान : सैनिक अदालतद्धारा १४ जनालाई मृत्युदण्डको फैसला

पाकिस्तान : सैनिक अदालतद्धारा १४ जनालाई मृत्युदण्डको फैसला


इस्लामावाद  पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।

 उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै ती १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो।

शनिबार इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो। उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुनअनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ।

सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक प्रमुख जर्नेल क्वामार जाभेद बाजवाले जानकारी दिएका हुन्।

पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालयले शनिबार सो समाचारको पुष्टि गरेको हो। उक्त कार्यालयले सैनिक प्रमुख जर्नेल क्वामालाई उद्धृत गर्दै जनाएको छ।

ती १४ जना विगत लामो समययतादेखि पाकिस्तानी सेनाका अधिकृतिहरुमाथि आक्रमण गर्ने, कैयौँ पाकिस्तानी सर्वसाधारण नागरिकको ज्यान लिने, शिक्षण संस्थाहरुमा आक्रमणगरी देशको भौतिक संरचनामा क्षति पु-याउनेजस्ता क्रियाकलापमा संलग्न रहेको पाइएको बताइएको छ ।

उनीहरुले विगतमा पाकिस्तानका कम्तीमा पनि २२ जना नागरिकको हत्या गरेका थिए। यसरी हत्या भएकामा तीन जना सर्वसाधारण नागरिक र अरु १९ जना सुरक्षा निकायका अधिकारीहरु रहेका थिए।

उनीहरुले विस्फोटक पदार्थ पड्काएर देशको भौतिक सम्पत्ति पनि नष्ट गरेका थिए। ती सबै आरोपमा भएको अदालती सुनुवाईमा उनीहरुको आरोप प्रमाणित भएको थियो।

ती सबै १४ जना आतङ्ककारी नै रहेको र पाकिस्तानमा प्रतिबन्धित समूहका सदस्य भएर लामो समयदेखि काम गरिरहेको खुलेको सैनिक जनसम्पर्क कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

उनीहरुले आफूमाथि लागेको आरोप स्वीकार गरेका पनि सो विज्ञप्तिमा जनाइएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ। रासस/एपी