काठमाण्डु- पाकिस्तानको खैबर पख्तुनख्वामा भएको शक्तिशाली बम विस्फोटमा परेर पाँच जना प्रहरीको मृत्यु भएको छ।
सोमबार प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी भएको उक्त विस्फोटमा परेर अन्य २२ जना घाइते भएका छन् । बाजौर जिल्लामा पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई ट्रकमा लैजाँदै गर्दा आक्रमण भएको हो। घाइतेहरूलाई बाजौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ।
प्रहरी टोलीलाई निशाना बनाइएको स्थान बाजौरको मामुन्द क्षेत्र हो र यो क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएको छ। सन् २०२१ मा अफगानिस्तानमा तालिबान शासन सत्तामा आएदेखि अफगानिस्तानसँगको सीमा क्षेत्र पाकिस्तानमा आक्रमण बढेको छ। अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन।
यसअघि आइतबार पनि पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी हमलामा चार जनाको मृत्यु भएको थियो। अज्ञात बन्दुकधारीहरूले दुईवटा गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
प्रतिक्रिया