काठमाण्डु-आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत आज चीर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ अन्तर्गत हुने आजको खेल न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट रंगशालामा राति ८ः१५ बजे सुरु हुनेछ ।
रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीचको खेलमा दुवै देशका समर्थक निकै उत्साहित छन् । जारी प्रतियोगितामा भारतले एक खेल खेल्दै जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ । आजको खेलमा दुवै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन् ।
आजको खेलमा पाकिस्तान पराजित भएमा प्रतियोगिताबाट बाहिरिने सम्भावना रहन्छ । तर खेलको आगामी समीकरणले नै प्रतियागितामा पाकिस्तान रहने वा नरहने तय गर्नेछ ।
अमेरिकासँग हारेपछि पाकिस्तानको आत्मविश्वास कमजोर भएको छ । भारतसँगको हार पाकिस्तानको दोस्रो हुनेछ र सुपर–८ मा प्रवेश गर्न उसलाई अप्ठयारो हुनेछ । तर सम्भावित समीकरणअनुसार भारतसँग पराजित भए पनि पाकिस्तान सुपर–८ मा प्रवेश गर्न सक्छ ।
विश्वकपमा २० वटा टिमले भाग लिएका छन् र ५/५ वटा टिम गरी चार वटा समूहमा बाँडिएको छ ।
भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । यस समूहमा अमेरिका, क्यानाडा र आयरल्याण्ड छन् । भारत र पाकिस्तान बाहेक यी तीन टिम २/२ खेल खेलिसकेका छन् । आजको खेल पछि भारत र पाकिस्तानको खेल संख्या पनि दुईवटा पुग्नेछ ।
यस समूहमा अमेरिका २ खेल जितेर ४ अंकका साथ अंक तालिका शीर्ष स्थानमा छन् । उता भारत पनि दुई अंकका साथ दोस्रो र क्यानाडा पनि २ अंकका साथ तेस्रो स्थानमा छ ।
पाकिस्तान र आयरल्याण्डको शून्य अंक छ र अंक तालिकामा क्रमशः चौथो र पाँचौ स्थानमा छ । पाकिस्तान भारतसँग पराजित भयो भने भारतको खातामा २ अंकमा वृद्धि भएर ४ हुनेछ र अंक तालिकामा पहिलो स्थानमा आउनेछ भने पाकिस्तान आफनै स्थानमा रहनेछ या पुच्छारमा पुग्ने खेलपछिको नेट रन रेटमा निर्भर छ । आजको खेलपछि समूह ‘ए’ का सबै टिम २ खेल खेल्न बाँकी रहन्छ भने पाकिस्तानले बढीमा ४ अंक मात्र जोड्न सक्छ । जबकि भारतको ४ अंक रहनेछ ।
उता अमेरिकाको ४ अंक नै छ । यसका अतिरिक्त भारत र अमेरिकाको नेट रन रेट पनि पाकिस्तानभन्दा राम्रो छ । यस्तो अवस्थामा पाकिस्तानको सुपर– ८ मा प्रवेश गर्न कठिन हुनेछ । तर, भारतसँग हारेर पाकिस्तान सुपर–८ मा प्रवेश गर्न सक्छ । कसरी, हेरौं ।
भारतसँग पराजित भए प्रतियोगिताबाट बाहिरिने खतरा पाकिस्तानलाई छ नै, जोगिने सम्भावना पनि छ । यसका लागि उसले आयरल्यान्ड र क्यानाडालाई जित्नै पर्ने हुन्छ । पाकिस्तानको तुलनामा यी दुबै टीम अपेक्षाकृत कमजोर छन् । तर प्रतियोगितामा रहिरहन यतिले मात्रै पाकिस्तानलाई पुग्दैन । उसलाई भारत र अमेरिकाभन्दा नेट रन रेट राम्रो बनाउनु पर्छ भने ठूलो अन्तरले पनि जित्नु पर्छ ।
यदि अमेरिकाले आगामी एउटा खेल जित्यो भने उसको खातामा ६ अंक हुनेछ र पाकिस्तानी टिम बाहिरिन्छ । यस्तो अवस्थामा अमेरिका, भारत र आयरल्यान्डसँग पराजित हुनु पाकिस्तानका लागि सुखद हुनेछ । यस्तो भएमा अमेरिका र पाकिस्तानसँग समान ४/४ अंक हुनेछ । त्यसो हुँदा अमेरिकाको भन्दा नेट रन रेट राम्रो भए मात्र पाकिस्तान सुपर–८ मा प्रवेश गर्न सक्नेछ ।
प्रतिक्रिया