पाकिस्तानमा ३ दिनमा ८२ जनाको मृत्यु

पाकिस्तानमा ३ दिनमा ८२ जनाको मृत्यु


एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा ३ दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् ।

पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि शुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने गरेको छ ।

गत हप्ता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका शिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो ।

“नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा भने।

“मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना शिया समुदायका व्यक्ति रहेका छन्,” उनले एएफपीसँग भने। शनिबार रातिसम्म पनि हल्का र गह्रौं हतियारसहित गोली हानाहान जारी रहेपछि करिब ३०० परिवार घर छोडी भागेका थिए ।

स्थानीय प्रशासनका एक अधिकारीले भने, “कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ।”