इमरान खानको आन्दोलनले इस्लामावाद अस्तव्यस्त

इमरान खानको आन्दोलनले इस्लामावाद अस्तव्यस्त


काठमाण्डु-पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको आह्वानमा पाकिस्तानमा प्रदर्शन भएको छ । हाल जेलमा रहेका खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई)का समर्थकहरूले इस्लामावादमा विरोध प्रदर्शन गरेका हुन् ।

एक वर्षभन्दा लामो समयदेखि जेलमा बन्द खानले गत फेब्रुवरीमा भएको निर्वाचनमा भएको जनादेशको अपमान, आफूसहितको अन्यायपूर्ण गिरफ्तारी र तानाशाही शासनको विरोधमा राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेका हुन् । विरोधका कारण पञ्जाब र राजधानी इस्लामावादमा तनाव बढेको छ ।

खान समर्थकहरूलाई राजधानी इस्लामावाद पुग्नबाट रोक्न सरकारले लकडाउन गरेको छ । पीटीआईका कार्यकर्ताहरूले राजधानीमा चक्काजाम पनि गरेका छन् । इस्लामावाद उच्च अदालतले पीटीआईको विरोध प्रदर्शनलाई गैरकानूनी ठहर गर्दै रोक लगाउन आदेश दिएको छ । अदालतले सरकारलाई कानून र व्यवस्था कायम राख्न निर्देशन दिएको छ ।

विरोधको समयमा इस्लामावादमा धारा १४४ लागू गरिएको छ । प्रहरीले कानून उल्लंघन गर्नेविरुद्ध कडाइका साथ कारवाही गर्ने चेतावनी दिएको छ ।

सरकारले सुरक्षा खतराको कारण राजधानीमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द गरेको छ । खान समर्थकले पाकिस्तानमा मात्रै नभएर विश्वभर नै विरोध प्रदर्शन गरिरहेका छन् ।

खानकी पत्नी बुशरा बीबी र खैबर पख्तुनख्वा प्रदेशका मुख्यमन्त्री अली अमीन गण्डापुर पनि विरोधमा सहभागी भएका छन् । राजधानीका प्रमुख मार्गहरू बन्द गरिएका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सरकारले रेन्जर्स तैनाथ गरेको छ ।

प्रदर्शनका कारण इस्लामावादका शैक्षिक संस्थाहरू सोमबार बन्द छन् । विरोध प्रदर्शनको क्रममा पीटीआई कार्यकर्ता र प्रहरीबीच विभिन्न स्थानमा झडपहरू भएका छन् ।