अमेरीकाले रोक्यो पाकिस्तानलाई दिंदै आएको ३० करोड डलरको सहयोग

अमेरीकाले रोक्यो पाकिस्तानलाई दिंदै आएको ३० करोड डलरको सहयोग


वासिङ्टन – संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ ।

अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु ध्वस्त पार्नेतर्फ दबाब दिइआएको छ, र वर्षको सुरुमै घोषणा गरेको सहायता रोक्काको रकम बृद्धि भएर दुई अर्ब डलरसम्म पुग्ने एक अधिकारीले बताए ।

“दक्षिण एसिया रणनीतिको कार्यान्वयनमा पाकिस्तानको निर्णायक कार्यवाहीको अभाव महसुस गरिएको छ । यही कारण जुन जुलाई २०१८ मा रक्षा मन्त्रालय मार्फत पाकिस्तानलाई उपलब्ध गराउने भनिएको ३० करोड डलर अब अन्यत्रै प्राथमिकताका क्षेत्रमा खर्च हुन्छ,” लेफ्टिनेन्ट कर्नेल कोन फल्कनरले बताए ।

तथापि, कार्यक्रममा फेरबदल गर्ने रक्षा मन्त्रालयको प्रस्तावमाथि कङ्ग्रेसको अनुमति आवश्यक पर्नेछ, उनले बताए । कङ्ग्रेसले उक्त प्रस्ताव स्वीकृत गर्ने वा खारेज गर्न सक्नेछ । पाकिस्तानले देशभित्रैका कतिपय लडाकू समूहसँग कडा सङ्घर्ष गर्नु परेको छ, र चरमपन्थीसँगको लामो युद्धमा हजारौंको ज्यान गइसकेको र अर्बौं डलरको क्षति भइसकेको पाकिस्तानको भनाइ छ ।

तर अमेरिकी अधिकारीहरु अफगानिस्तानमा हुने आक्रमणमा पाकिस्तानभित्र सुरक्षित रुपमा लुकेर बस्ने विभिन्न समूहको संलग्नता रहेको आरोप लगाउँछन् । सीमावर्ती क्षेत्रमा खुलेआम घुमफिर गर्ने लडाकुलाई नियन्त्रण गर्न पाकिस्तानले बेवास्ता गरिरहेको वा कतिपय अवस्थामा सहयोग गरिरहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।

ह्वाइट हाउसको विश्वासमा पाकिस्तानको गुप्तचर निकाय इन्टर–सर्भिस इन्टेलिजेन्स र अरु सैनिक निकायहरुले लामो समयदेखि तालिबानलाई रकम र हतियार दिइरहेका छन् । अफगानिस्तानमा भारतको प्रभाव निस्तेज तुल्याउन पनि तालिबानलाई पाकिस्तानको सहयोग छ ।

पाकिस्तानको हस्तक्षेपले मात्र अफगानिस्तानमा जारी लामो युद्ध अन्त्य हुने अमेरिकी विश्वास छ । अमेरिकी नैराश्य केही पहिलेदेखि तिब्र रुपमा अगाडि आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडिका राष्ट्रपति बाराक ओबामाले पाकिस्तानको एब्बोटाबादमा लुकेर बसेका ओसामा बिन लादेनलाई मार्न तथा लडाकूहरु लुकिछिपी रहेका स्थानहरुमा ड्रोन आक्रमण गर्न अनुमति दिएको थियो ।

तर ट्रम्पको भाषाबाट खासगरी पाकिस्तानी अधिकारीहरुलाई क्षुब्ध पारेको छ । “संयुक्तराज्य अमेरिकाले विगत १५ वर्षदेखि पाकिस्तानलाई ३३ अर्ब डलरको सहयोग दिनु नै मुख्र्याई हो, तर उनीहरुले हामीलाई कपट र धोखा मात्र दिए, र हाम्रा नेतालाई उनीहरु मुर्ख ठान्छन्,” ट्रम्पले यसै वर्षको शुरुमा एउटा ट्वीटमा लेखेका छन् । “उनीहरु ९पाकिस्तान० ले आतङ्कवादीलाई सुरक्षित स्थल दिए हामीले अफगानिस्तानमा खोज्यौं । अब त्यो हुँदैन ।”

पाकिस्तानी नेताहरुले ३३ अर्ब डलरको सहयोगका बारेमा विवाद उठाएका छन् र आधाभन्दा बढी पैसा भुक्तानी गर्नुपर्ने रकम हो । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले आतङ्कवादसँगको लडाइँमा पाकिस्तानले ठूलो बलिदान गरेको कुरा ट्रम्पले नजरअन्दाज गरेको आरोप लगाएको छ ।एएफपी