काठमाण्डु- अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार राति पाक्टिकाको बर्मल जिल्लामा भएको आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका छन् ।
तालिबान अधिकारीहरूका अनुसार वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरी आक्रमण भएको थियो । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताएका छन् ।
पक्तिका अस्पतालका एक अधिकारीले बीबीसीलाई बताएअनुसार २२ शवसहित ४६ घाइतेलाई उनीहरूको स्वास्थ्य केन्द्रमा लगिएको छ । तीमध्ये केहीलाई राम्रो उपचारका लागि उत्कृष्ट उपकरणसहित अस्पतालमा पठाइएको छ ।
तालिबान सरकारको रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त हमलाको निन्दा गर्दै यसलाई ‘बर्बर’ भनिएको छ । ‘अफगानिस्तानको इस्लामिक इमिरेट्स यो क्रूर कार्यलाई सबै अन्तर्राष्ट्रिय मान्यताको उल्लङ्घन भएको विश्वास गर्दछ र यसको कडा निन्दा गर्दछ,’विज्ञप्तिमा भनिएको छ ।
‘इस्लामिक इमिरेट्सले यस क्रूर कार्यको जवाफ दिनेछ । यो आफ्नो भूमि र क्षेत्रको रक्षा गर्न आफ्नो अधिकार मान्छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया