नयाँ दिल्ली– पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय कारागारमा कैदमा रहेका सात पाकिस्तानी कैदीलाई हिजो रिहा गरी पाकिस्तान पठाइएको भारतीय गृह मन्त्रालयले जनाएको छ । गत हप्ता पनि १४ पाकिस्तानी माझीलाई जेलमुक्त गरी पाकिस्तान फर्काइएको पनि अधिकारीहरुले थप जानकारी दिएका छन् ।
पाकिस्तानले पनि सोमबार २७ जना माझीसहित ३० कैदीलाई पञ्जाबको सीमाक्षेत्र बग्गामा भारतीय अधिकारीहरुको जिम्मा लगाएका छन् । भारतीय अधिकारीहरुका अनुसार सर्वोच्च अदालतमा गत महिना सरकारले बुझाएको एक प्रतिवेदन अनुसार पाकिस्तानको जेलमा ४१८ माझीसहित ४७० कैदमा रहेका छन् ।
पाकिस्तान र भारतका माझीहरुलाई एक अर्काको गैरकानूनी रुपमा जलक्षेत्रमा प्रवेश गरेको आरोपमा पक्राउ पर्ने गरेका छन् ।दुबै क्षेत्रका माझीहरु दुई देशमा सीमा जलक्षेत्रमा लगाइएको अन्तर्राष्ट्रिय सीमारेखाको कम ज्ञान हुनाको कारण बारम्बार यस्ता गल्ती हुने गरेका पाइन्छ ।
भारतीय गृह मन्त्रालयका अनुसार यस वर्ष भारतले १७८ पाकिस्तान कैदीहरुलाई रिहा गरिसकेको छ ।पाकिस्तानले पनि आफ्नो हिरासतमा रहेका १७४ भारतीय माझीसहित १७८ कैदीलाई यस वर्ष रिहा गरिसकेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । एपी/रासस
प्रतिक्रिया