पाकिस्तानी सेनाको गतिविधि विरुद्ध अफगानिस्तानले लेख्यो राष्ट्रसंघलाई पत्र

पाकिस्तानी सेनाको गतिविधि विरुद्ध अफगानिस्तानले लेख्यो राष्ट्रसंघलाई पत्र


एजेन्सी – संयुक्त राष्ट्रसंघको घोषणापत्रको धारा २, अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानूनको उल्लङ्घन गरेको भन्दै पाकिस्तानी सेनाको गतिविधि विरुद्ध कदम चाल्न अफगानिस्तानले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेको छ ।

पाकिस्तानी सेनाले आफ्नो सीमा क्षेत्रमा उत्तेजक गतिविधि गरिरहेको भन्दै अफगानिस्तान सरकारले यस विषयमा आवश्यक कदम चाल्न भन्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको हो ।

अफगानिस्तान सरकारले पाकिस्तानी सेनाको उल्लङ्घनको कडा निन्दा गर्दै उत्तेजक एवं गैरकानूनी गतिविधिविरुद्ध आवश्यक कदम चाल्न आह्वान गरेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई गत साता लेखेको पत्रमा उल्लेख छ ।

अफगानिस्तान सरकारले पत्रमा पाकिस्तानी सेनाले अफगान भूमिमा सैनिक पोष्ट र छेकबार बनाएको, अगष्ट १९ र २० का दिन कुनार प्रान्तको शेल्तान जिल्लामा २ सय भन्दा धेरै रकेट प्रहार गरेको, आवाशीय सम्पत्ति तथा स्थानीय मानिसहरुलाई विस्थापित गर्नेगरी हवाई क्षेत्रको उल्लङ्घन गरेको आरोप लगाएको छ ।