चेम्बर लुम्बिनीको सिंगो टीम ३ वर्षे रणनीति बनाउन पाल्पामा

चेम्बर लुम्बिनीको सिंगो टीम ३ वर्षे रणनीति बनाउन पाल्पामा


तानसेन – नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा बिहीबार सुरु भएको छ ।

चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछि आगामी ३ वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले जनाएको छ ।

कार्यशालाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख (मेयर) सन्तोषलाल श्रेष्ठले तानसेनसहित सिंगो पाल्पाको पर्यटन र व्यावसायिक प्रबर्द्धनका लागि सहयोग गर्न आह्वान गरे । स्वास्थ्य, शिक्षा र व्यवसायका लागि तानसेन ऐतिहासिक ‘हब’ हुँदाहुँदै पनि पछाडि परेकोमा चिन्ता व्यक्त गरे । पर्यटनका दृष्टिले तानसेनमा अपार सम्भावना रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

बुटवल–पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुँदासम्म तानसेन र आसपासका पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधारहरू निर्माण गरेर लाखौं पर्यटक भित्र्याउन सकिने सम्भावना औंल्याए ।

चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोख्रेलले आगामी ३ वर्षभित्र लुम्बिनी चेम्बरले अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकास्तरीय कार्यक्रम आयोजना गर्ने गरी रणनीतिक योजना बनाउने बताए । अघिल्लो कार्यकालमा चेम्बरलाई विस्तार गर्ने अधिकांश काम भएकाले अबको ३ वर्ष उद्योगी–व्यवसायीको अभिभावक संस्थाको रूपमा विकास गर्ने बताए । चेम्बरले तीनै तहका सरकारहरूसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउँदै त्यसका लागि साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले व्यावसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाँकी नराख्ने बताए । परम्परागतभन्दा भिन्न गतिविधि गरेर यसपालि चेम्बरले आफ्ना गतिविधि गर्ने बताए ।

कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी ३ वर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्दैछन् ।

चेम्बर लुम्बिनीको सिंगो कार्यसमिति र विभिन्न जिल्ला र नगर कार्यसमितिका अध्यक्षहरू उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरूले गर्ने कार्यक्रमको रणनीति बनाइँदैछ । यस अवसरमा चेम्बर लुम्बिनीका महासचिव शिव ज्ञवाली, उपाध्याय जेपी कंडेलेले बोलेका थिए ।