पाल्पामा एमालेविरुद्ध वडा तहसम्मै गठबन्धन, पहिले जितेका ६ मध्ये तीन पालिका गुमाउने सम्भावना

पाल्पामा एमालेविरुद्ध वडा तहसम्मै गठबन्धन, पहिले जितेका ६ मध्ये तीन पालिका गुमाउने सम्भावना


काठमाण्डु – लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा चुनावी रौनक बढ्दो छ । जिल्लामा दुईवटा नगरपालिकासहित १० वटा स्थानीय तह छन् । पाल्पामा मुख्यतः विगतदेखि नै कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने गरेको छ । तर, माओवादीको मत निर्णायक अवस्थामा छ ।

एमाले नेता ठाकुर गैरे र एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको गृहजिल्ला पाल्पामा यसपटक भने फरक खालको प्रतिस्पर्धा देखिन्छ । ०७४ सालको चुनावी परिणामका आधारमा एमाले पहिलो दल हो । उसले उसले ६ वटा पालिका जितेको थियो । बाँकी चारवटामा कांग्रेस सफल भयो । माओवादीले भने एउटै पालिका जित्न सकेन ।

एमालेले तानसेन नगरपालिकाको मेयर–उपमेयर तथा तिनाउ, निस्दी, पूर्वखोला, रिब्दीकोट र रम्भा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जित्यो । कांग्रेसले रामपुर नगरपालिकाको मेयर–उपमेयर तथा माथागढी र रैनादेवी–छहरा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बगनासकालीमा अध्यक्ष जित्यो । बगनासकालीमा उपाध्यक्ष एमालेले जितेको थियो । यहाँ कांग्रेस र माओवादी मिलेर लडेका थिए ।

एमालेले जितेकामध्ये तिनाउ गाउँपालिकामा सयभन्दा कमको मतान्तर थियो । निस्दी, पूर्वखोला र रम्भामा भने उसले फराकिलो अन्तरले जितेको थियो । आगामी चुनावका लागि जिल्लामा पाँचदलीय गठबन्धन एकातिर र एमाले अर्कातिर छ । सबै पालिकामा सत्ता गठबन्धनबीच तालमेल भएको छ । एमालेले केही स्थानमा विप्लव समूहसँग गठबन्धन बनाएको छ ।

सत्ता गठबन्धनमा कांग्रेसले ६, माओवादी र एकीकृत समाजवादीले दुई–दुई पालिकाको नेतृत्व पाएका छन् । पाँच दलले वडा तहसम्मै भागबन्डा गरेका छन् । कांग्रेसले सदरमुकामसमेत रहेको तानसेन र प्रमुख व्यापारिक केन्द्र रामपुर नगरपालिकाको नेतृत्व पाएको छ । यस्तै, उसले माथागढी, रैनादेवी–छहरा, बगनासकाली र निस्दी गाउँपालिकामा प्रमुख पाएको छ । माओवादीले रिब्दीकोट र तिनाउ गाउँपालिकाको अध्यक्ष तथा एकीकृत समाजवादीले रम्भा र पूर्वखोला गाउँपालिकाको अध्यक्ष लडेका छन् ।

एक्लाएक्लै लडेको अवस्थामा पाल्पामा एमाले नै मजबुत देखिन्छ । तर, गठबन्धन भएकाले अब कडा प्रतिस्पर्धा हुने भएको छ । एमालेलाई अर्को समस्या पार्टी विभाजनको असर पनि जिल्लामा परेको छ । एकीकृत समाजवादी गठबन्धन गरेर आएकाले एमालेका लागि पुरानो नतिजा दोहो¥याउन सजिलो छैन । उसले अब तिनाउ र रिब्दीकोट गाउँपालिका गुमाउने लगभग निश्चित छ । किनकि यी गाउँपालिकामा कांग्रेस र माओवादी मात्रै मिल्दा पनि एमालेको भन्दा निकै धेरै मत हुन्छ । तानसेन नगरपालिकामा पनि यसपटक एमालेलाई सहज देखिँदैन ।

समग्रमा पाल्पामा एमालेले पहिले जितेका ६ मध्ये आधा पालिका गुमाउन सक्नेछ । कांग्रेस र माओवादी दुवै फाइदामा हुने देखिन्छ । जिल्लामा आगामी चुनावका लागि १ लाख ९९ हजार ६ सय ९० मतदाता छन् । तीमध्ये १ लाख ६६ हजार ८० पुरुष र १ लाख ३ हजार १० महिला छन् ।