नेताहरूसँगको छलफलपछि सांसद बजगाईंविरुद्ध पार्टीमा उजुरी दिने तयारीमा पर्यटनमन्त्री पाण्डे

नेताहरूसँगको छलफलपछि सांसद बजगाईंविरुद्ध पार्टीमा उजुरी दिने तयारीमा पर्यटनमन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेताद्वय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंबीच देखिएको आरोपप्रत्यारोप अब पार्टीमा उजुरीसम्म पुग्ने भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सांसद बजगाईंले भैरहवास्थित टाइगर प्यालेस होटलमा रोयल टाइगर रिक्रिएसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा पर्यटनमन्त्री पाण्डेले घूस खाएको आरोप लगाएपछि सुरु भएको द्वन्द्व पार्टीमा उजुरीसम्म पुग्ने निश्चित भएको हो ।

सांसद बजगाईंले फेसबुक पोष्ट हटाए पनि स्क्रीन सट राखेका पाण्डेले यसबारे नेताहरूसंग कसरी अगाडी बढ्ने भनेर छलफल गरेका छन् । पार्टीभित्र आफ्नो समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग मन्त्री पाण्डेले आफ्नो बदनाम गर्ने सांसदविरुद्ध कसरी अगाडी बढ्ने भनेर सुझाव मागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेसका सहमहामन्त्री पाण्डे १४ औं महाधिवेशनमा डा. कोइरालाको समूहबाट उम्मेदवार बनेर सहमहामन्त्रीमा निर्वाचित भएका थिए । सांसद बजगाईं पनि डा. कोइराला सम्रूहकै नेता हुन् । तर, उनले आफूहरूले भनेको पनि नमानेकाले पार्टीमा कानुनी प्रक्रियामा जान डा. कोइराला र महामन्त्री थापाले मन्त्री पाण्डेलाई सुझाव दिएका निकटस्थ स्रोतले जानकारी दियो ।

उनीहरूले नै त्यस्तो सुझाव दिएपछि मन्त्री पाण्डे सांसद बजगाईंविरुद्ध पार्टी केन्द्रीय कार्यालय, संसदीय दल र अनुशासन आयोगमा उजुरी दिने तयारीमा रहेको उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पाण्डेले बुधबार आफ्नो अगाडिको यात्रा मेरो पार्टीलाई पनि भन्छु, सरकारलाई पनि भन्छु, मैले मेरो आफ्नो नैतिक बलका आधारमा म कानुनी लडाइँ पनि लड्छु भन्ने अभिव्यक्ति सार्वजनिकरूपमा दिएका थिए ।

मन्त्री पाण्डेले सरकार र पार्टीलाई आफूमाथि गहिरो गरी छानबिन गर्न पनि आग्रह गरेका छन् । आफूले जानेर, नजानेर कमजोरी गरेको देखिएमा जुनसुकै बेला सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिने समेत बताएका छन् ।

सांसद बजगाईंले सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै विवादमा रहेको टाइगर प्यालेस होटलमा सञ्चालन हुन लागेको क्यासिनोलाई इजाजत दिएको आरोप मन्त्री पाण्डेमाथि लगाएका थिए । स्रोतका अनुसार बजगाईंले होटल आफ्नो समूहले किन्न खोजेको तर नपाएपछि होटलसँग जोडिएका जोकोहीलाई नकारात्मक दृष्टिले हेर्ने गरेका छन् ।

तर, बजगाईंले भने आफू सन् २०१७ मा नै होटलबाट अलग्गिएको बताउँदै आएका छन् ।क्रियाको प्रतिक्रिया बढी नै आएपछि सभापति शेरबहादुर देउवासहितका नेताहरूले माहौल थप बिग्रिने भन्दै दुवैलाई शान्त रहन निर्देशन दिएको नेताहरू बताउँछन् ।

यता कांग्रेसभित्र भने बजगाईंले विषयलाई अनावश्यक रूपमा उठाएको भन्दै कारबाही गर्नुपर्ने माग बढेको छ । पार्टीको अनुशासनविपरीत गतिविधि भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।