लेबनानमा शान्ति सैनिकमाथि भएको हमलाको नेपालबाट कडा निन्दा

लेबनानमा शान्ति सैनिकमाथि भएको हमलाको नेपालबाट कडा निन्दा


काठमाण्डु– नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको निन्दा गरेको छ ।

युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।

सो घटनाविरुद्ध परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालका तर्फबाट निन्दा गरेको हो। आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ ।

‘नेपाल हालै युनिफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र, संघर्षरत् दुवै पक्षलाई उनीहरू (शान्ति सैनिक)को सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ।’