इश्लामावाद – पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य प्रमुख जनरल परवेज मुशर्रफको बचाउमा सेनापछि अब पाकिस्तानी सरकार पनि खडा भएको छ ।
यसैगरी मुशर्रफले फासीको सजाय सुनाएपछि पहिलो पटक बयान दिएका छन् । उनले आफू बिरुद्धको कारवाही बदलाको भावनाबाट प्रेरित भएको बताएका छन् ।
मुशर्रफ हाल बिरामी छन् र दुबईमा उपचार गराइरहेका छन् । मंगलबार अदालतले मुशर्रफलाई मृत्यूदण्डको सजाय सुनाएको थियो र यो सजायमा उनले पहिलो पटक प्रतिक्रिया दिएका हुन् ।
पाकिस्तानका महान्याधिवत्ता अनवर मंसुरले प्रधानमन्त्री इमरानखानको विशेष सहायक फिरदोस आशकि अवानसँगको संयुक्त पत्रकार सम्मलेनको अवसरमा अदालतको फैसला अनुचित भएको बताएका छन् ।
उनले भनेका छन्, ‘फैसला सुनाउनमा हतार गरिएको छ । त्यसैले यसमाथि सवाल उठिरहेको छ । जबकि मुशर्रफ दुबईको अस्पतालमा गंभीर हालतमा सघन कक्ष (आईसीयू) मा उपचार गराइरहेका छन् ।’
महान्याधिवक्ताले भने, ‘यो मामिलाको ठूलो समस्या भनेको जसले पाकिस्तानमा आपतकाल लागु गर्नका लागि मुशर्रफलाई सघाएका थिए, उनीहरुलाई सह अभियुक्त बनाइएको छैन ।’
अदालतबाट मृत्यूदण्डको सजाय सुनाएपछि उनका समर्थकहरुले देशका विभिन्न भागमा जुलुश निकालेका छन् ।
उनको पार्टिका तर्फबाट जारी भिडियोमा मुशर्रफले भनेका छन्, ‘यस किसिमको फैसलाको कुनै अन्य उदाहरण छैन । न प्रतिवादी तथा उसको वकिललाई आफ्नो कुरा राख्न दिइएको छ ।’
अदालतले २०१४ देखि २०१९ काबीच उनीमाथि मुद्धा चलायो र दुबईमा बयान दर्ता गर्ने उनको आग्रह पनि मानिएन ।
मुशर्रफमाथि संविधान रद्द गर्ने तथा पाकिस्तानमा नोभेम्बर २००७ मा गैर संवैधानिक आपतकाल लगाएको आरोप लागेको छ ।
प्रतिक्रिया