चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् ।
उनले पाँच वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु पिच गर्ने दाबी गरे । ‘चुनावताका २४ नम्बर वडा पिच नै नभएको वडाको रुपमा चिनिन्थ्यो तर आज यो कार्यक्रममा म आउँदा बाटो पिच भएको देखेर गर्वको महसुस भयो,’ प्रचण्डले भने, ‘यो शुभसंकेत हो, सबै बाटाहरु पाँच वर्षभित्र पिच गरिसक्ने । एक वर्ष झण्डै बित्यो, अब चार वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु धुलामुक्त हुनेछन् ।’
उनले त्यो कामको थालनी भरतपुर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकार तीनवटै तहबाट भइसकेको र निकै उत्साहपूर्ण तरिकाले अगाडि बढेको जानकारी समेत गराए । प्रचण्डले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने आश्वासन समेत दिए । उनले भने, ‘अहिले सरकारमा निकै गम्भीर रुपले यो समस्याको गम्भीररुपमा नीतिगत समिक्षा भइराखेको छ र केही समयभित्रै एउटा निष्कर्षमा पुगेर पूर्जा वितरणको काम या अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने छ ।’
उनले भरतपुर महानगरपालिका २४ नम्बर वडाको अव्यवस्थित बसोबास नै प्रमुख समस्या रहेको बताए । चितवनबाट निर्वाचित सांसदसमेत रहेका प्रचण्डले भने, ‘अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखेर हामीले केही समयभित्रै यो समस्याको समाधान गर्ने छौं । जसलाई तुरुन्तै लालपूर्जा दिन सम्भव छ, उनीहरुलाई लालपूर्जा वितरणको व्यवस्था गरिने छ, स्थानान्तरण गर्नुपर्ने अवस्था भएकालाई स्थानान्तरण गरिने छ, कुनै खास रसिद दिनुपर्ने अवस्था हो भने रसिद दिइने छ ।’
गृहजिल्ला चितवनका बिभिन्न कार्यक्रममा व्यस्त रहेका प्रचण्डले विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका थिए । अध्यक्ष प्रचण्डले साझापुर माविमा अध्ययनरत अरुण माझी र पत्रुश मुसहरको गत वर्ष अभिभावकत्व ग्रहण गरेका थिए । बुधबार विद्यालयमा पुगेर उनले अरुण र पत्रुशको खाजा, कापी, किताव र अन्य आवश्यकीय शैक्षिक सामाग्रीबारे जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया