चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने बताएका छन्। बुधबार चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्र्तक्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद समेत दिए। माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउँदै प्रचण्डले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्नेदेखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए।
उनले भने ‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ। पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरु पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ। यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मिहेनत गर्नुपरेको छ।’ स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा जानकारी गराएका थिए।
प्रतिक्रिया