छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड


काठमाडौं – ललितपुरको खुमलटारमा सोमबार बिहान दिवंगत छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएका छन् । कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, जनता, नेता कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भनेपछि गला अवरुद्ध भएको थियो ।

गला अवरुद्ध पार्दै प्रचण्डले भने, ‘यो उपस्थितिले हाम्रो परिवार, पार्टी र मलाई नयाँ ऊर्जा थपेको महसुस भएको छ । यो उपस्थिति राष्ट्रको हितमा निरन्तर लाग्ने प्रेरणा बनेको छ । यस किसिमको सद्भाव, प्रेरणा र विश्वास हुँदैनथ्यो भने शायद हाम्रो परिवार नै विघटन भइसकेको हुनेथियो ।’ प्रकाशको असामयिक निधनपछिको अवस्थालाई सामना गर्न सजिलो नभएको स्मरण गर्दै प्रचण्डले यसक्रममा पाएको साथ, सद्भाव र हौसलाका लागि सबैलाई धन्यवाद दिए ।

सोही सद्भावले आफूहरूमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको प्रचण्डको भनाइ थियो । उनले प्रकाश दाहाल बिस्तारै परिपक्व हुँदै गएको अवस्था पनि स्मरण गरे । ‘उसमा बालसुलभ कमी कमजोरी पनि थियो तर नजिकबाट नियालेको नाताले धेरै परिपक्व हुँदै थियो । भरोसा गर्न सकिने अवस्था थियो,’ प्रचण्डले भने ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।